“विश्व स्तनपान सप्ताह” 2023 By असोक बिष्ट (स्वास्थ्यकर्मि)

By असोक बिष्ट (स्वास्थ्यकर्मि)

World Breastfeeding Week 2023: Let´s make breastfeeding and work,

“विश्व स्तनपान सप्ताह: स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता” “विश्व स्तनपान सप्ताहका अवसरमा आमाको दूध सम्बन्धि केही जानकारी अमृत समान आमाको दूध नवजातशिशुलाई जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनु पर्दछ ? नेपाल सरकार, युनिसेफ नेपाल का अनुसार प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाई राख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ । आमाको दुध शिशुको विकासात्मक आवश्यकता अनुरुप हुन्छ । जति मात्रामा शिशुलाई प्रोटिन, भिटामिन, तथा खनिजकोेआवश्यकता हुन्छ, त्यत्ति नै मात्रा आमाको दुधमा रहेको हुन्छ । शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दुधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दुधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खानाहरू खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दुध पनि घट्दै जाने हुन्छ । त्यसैले आमाको दुध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दुध जस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाईदैन । आमाको दुध अमृत समान हो ।

आमाको दुधको विशेषता

🤱आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन (immunoglobin) जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।

🤱आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रा समेत रहेको हुन्छ ।

🤱आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैँ शिशुको मुखमा जान्छ ।

🤱शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दुधमा रहेको अक्सिटोसिन हर्मोन (oxytocin hormone) निस्केर आमाको दुध आफैँ बग्न थाल्छ ।

🤱स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ । स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।

🤱आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।

नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनुपर्दछ?

स्तनपानको लागि आमाको तत्परता शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ । आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ । आमाको दुधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनुपर्दैन । ६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तीमा दुई वर्षसम्म आमाको दुध खुवाउनुपर्छ । सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात तरकारी तथा फलफूल, पशुपन्छीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्ने चिन्ता लिने, धूमपान तथा मद्यपान गर्नु हुँदैन । स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ । स्तनपान गराउँदा शिशुले आमाको भावना बुझ्ने हुनाले, आमाले खुसी हुने, हाँस्दै रमाउदै, जिस्कदै खुवाउनुपर्छ । जसले गर्दा शिशु पनि खुसी हुने र आमाको दुध प्रशस्त आउन सजिलो हुन्छ । स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू: स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्दछ । सफा र खुकुलो लुगा लगाउनुपर्दछ । आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको सी आकार) आकारमा समात्नुपर्दछ । बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरू आौँला स्तनको तलपट्टि हुनुपर्छ । शिशुलाई काखमा राख्ने र शिशुको ढाड र टाउको अलिकति अर्को हातमाथि राखेर अलि उठाउँनुपर्छ र दुध चुसाउनुपर्दछ । दुध चुसाउनु पहिले शिशुलाई स्तनमा ओठले, हातले चलाउन उत्प्रेरित गर्ने जसले गर्दा दुध पग्रन्छ र शिशुले दुध चुस्न मिहेनत गर्नु पर्दैन । स्तनपान गराउँदा एकपटकमा एकापट्टिको दुध पूर्ण खाली हुने गरी खुवाउनुपर्छ । अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्दछ, जसले गर्दा पूर्ण स्तनपान हुन्छ । दूबैतिरको आधा आधा खुवाउदा दुधमा भएको पानीको मात्रामात्र शिशुले खाने हुनाले शिशुले आवश्यक पूर्ण पोषण पाउन सक्दैन । शिशुले जति दुध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दुध बन्दछ । दुध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठिउँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन । सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोषिलो खाना खानुपर्दछ, जस्तैः दाल, गेडागुडी, दुध र अन्य तरल खानेकुरा बढी खानुपर्छ । सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानुपर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क उपलब्ध हुन्छ । सुत्केरी भएको ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानुपर्दछ । दुध नआउने, बच्चाले दुध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पर्क गर्नुपर्दछ । शिशु बिरामी छ भने पनि बारम्बार दुध खुवाउनुपर्छ । शिशुले आमाको दुध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ । स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्दछ ।

Leave a Reply

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping